यूएईको फुजैराहमा २३ सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा २३ वटा सवारीसाधन एकआपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यूएईको गृह मन्त्रालयका अनुसार पाँचवटा ट्रक र १८ वटा कार दुर्घटनामा परेका हुन्। एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाएर अर्को सवारीसाधनमा ठक्कर दिएपछि सुस्त गतिमा चलिरहेका अन्य सवारीसाधन पनि एकपछि अर्को गर्दै ठोक्किएका थिए।

मध्यरात हुनुभन्दा केही समयअघि फुजैराह प्रवेशद्वारमा दुर्घटना भएको हो। ठक्करपछि ट्रकमा आगलागी भएको र आगो अन्य सवारीसाधनमा समेत फैलिँदा ठूलो मानवीय क्षति भएको मन्त्रालयले जनाएको छ। फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको जनाएको छ। मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको छ।

मृत्यु हुनेमा यूएईका नागरिकसमेत रहेको प्रहरीले जनाएको छ। यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको समेत मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले मृतकका परिवारसँग सम्पर्क गरिरहेको र आवश्यक सहयोगका लागि स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको जनाएको छ।

Facebook Comments Box