अफगानिस्तानमा महिलाको उपचारमा थप प्रतिबन्ध, पुरुष चिकित्सकबाट उपचार लिन पनि रोक
काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि लगाउँदै आएको प्रतिबन्ध थप कडा बनाएको छ। पुरुष चिकित्सक तथा दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाइएपछि महिलाको आधारभूत स्वास्थ्य सेवामा पहुँचसमेत प्रभावित भएको छ।
द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार, तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल तथा निजी क्लिनिकमा पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने नियम कार्यान्वयन भइरहेको छ। आकस्मिक अवस्थामा समेत महिला बिरामीसँग पुरुष अभिभावक अर्थात् महरम अनिवार्य गरिएको छ।
यस प्रतिबन्धको प्रत्यक्ष असर हेरात सहरकी ३७ वर्षीया फरीदामा परेको छ। दाँतको उपचारका लागि क्लिनिक पुगेकी उनले नक्कली दाँत प्रत्यारोपण गर्न आवश्यक रकम अग्रिम भुक्तानी गरेकी थिइन्। तर उपचारको अन्तिम चरणमा पुरुष दन्त चिकित्सकले महिलाको उपचार गर्न नपाउने भन्दै उनलाई फर्काइएको थियो। तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन।
महिलामाथिका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन्। उत्तरी बल्ख प्रान्तमा सरकारी तथा निजी अस्पताललाई महिला बिरामीलाई वास्तविक नामबाट नबोलाउन र औषधिको पुर्जामा नामको सट्टा ‘श्रीमती’ लेख्नसमेत निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ। यसैबीच, तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकमा छापा मार्न थालेका छन्।
महिला बिरामीको उपचार गरेको भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनीसमेत दिइएको छ। चिकित्सकहरूलाई पुरुष अभिभावकबिना महिला बिरामीको उपचार नगर्न निर्देशन दिइएको बताइएको छ। महिला स्वास्थ्यकर्मीको अभावले समस्या थप जटिल बनेको छ। सन् २०२४ डिसेम्बरदेखि महिलालाई चिकित्सा शिक्षासम्बन्धी संस्थामा अध्ययन गर्न रोक लगाइएपछि महिला चिकित्सक उत्पादन र उपलब्धतामा असर परेको छ।
हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता रहेको छ। पुरुष चिकित्सकबाट उपचार लिन प्रतिबन्ध र महिला स्वास्थ्यकर्मीको अभावका कारण बिरामी महिलाले घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रतिबन्धका कारण अफगान महिलासँग अहिले उपचारका सीमित विकल्प मात्र बाँकी छन्।
जोखिम मोलेर लुकीछिपी उपचार गराउने, पर्याप्त तालिम नभएका स्वास्थ्यकर्मीबाट सेवा लिने वा रोग पालेर बस्नुपर्ने अवस्था देखिएको छ। महिला चिकित्सकको उत्पादन र नियुक्तिमा रोक लगाउनुका साथै पुरुष चिकित्सकबाट उपचार लिनसमेत अवरोध सिर्जना भएपछि अफगानिस्तानमा महिलाको आधारभूत स्वास्थ्य अधिकार गम्भीर संकटमा परेको छ।

