गुल्मीमा असिनापानीले पाक्न लागेको धानबालीमा क्षति, किसान चिन्तित
गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ। असिनापानीका कारण इस्मा गाउँपालिका–१ को भराह र गुर्वा क्षेत्रमा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। गुर्वामा मात्रै करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्याएको हो।
असिनाले धानका बाला झारेपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय कृषक पदम खत्रीको मात्रै करिब एक सय रोपनी क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ। केही दिनमै धान काटेर भित्र्याउने तयारीमा रहेका खत्रीले वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताएका छन्।
यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि भित्र्याउने बेलामा परेको असिनापानीले उत्पादन र किसानको आम्दानीमा असर पर्ने देखिएको छ। जिल्लाका अन्य स्थानमा समेत धानबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा नौ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। त्यसमध्ये चार सय ४५ हेक्टरमा चैते धान खेती गरिन्छ।
जिल्लाका सबै स्थानीय तहमा धान उत्पादन हुने गरेको छ। इस्माको छल्दी र चौरासी, धुर्कोट, मालिकाको अर्जेबेसी, मुसिकोट, सत्यवती र चन्द्रकोटका विभिन्न फाँट धान उत्पादनका प्रमुख क्षेत्र हुन्। जिल्लामा तीन हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ भने छ हजार ६ सय ९० हेक्टरमा आंशिक सिँचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
सिँचाइको पर्याप्त सुविधा नहुँदा धेरै किसान अझै आकाशे पानीमा निर्भर छन्। धान भित्र्याउने समयमा परेको प्राकृतिक विपत्तिले किसानलाई आर्थिक नोक्सानीसँगै जिल्लाको खाद्यान्न उत्पादनमा समेत असर पार्ने देखिएको छ।

