मापसे गरेर रात्रिबस चलाउने दुई चालक पक्राउ
काठमाडौँ । मादक पदार्थ सेवन गरेर रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई जना चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आइतबार काठमाडौँको नयाँ बसपार्कमा गरेको मादक पदार्थ सेवन जाँचका क्रममा बलराम चौधरी र लोचन रानामगरलाई नियन्त्रणमा लिएको हो।
ट्राफिक प्रहरीका अनुसार जाँच गर्दा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभएको छ।
चालकको लापरबाहीका कारण यात्रुको ज्यान जोखिममा पर्न सक्ने भन्दै प्रहरीले जिम्मेवार भएर सवारी चलाउन आग्रह गरेको छ। रात्रिकालीन सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले मापसे जाँचलाई निरन्तरता दिएको जनाएको छ। पक्राउ परेका चालकले चलाइरहेका बसका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित यातायात समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

