भसभसे पहिरोले बागलुङ–बेनी सडक जोखिममा, घण्टौँ जाम

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरोका कारण बागलुङ–बेनी सडकमा यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक भासिएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ। गत असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा नदी कटान हुँदा सडक भासिएको हो।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि बागलुङ–बेनी–मालढुङ्गा सडकमा सवारीसाधनको चाप बढेको छ। मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम पूर्व–पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ जाने–आउने सवारीसाधनले समेत यही वैकल्पिक सडक प्रयोग गरिरहेका छन्।

स्थानीय कमल सुवेदीका अनुसार भसभसेमा करिब एक सय मिटर सडक साविकको सतहभन्दा दुईदेखि तीन मिटरसम्म भासिएको छ। सडकमा हिलो जम्ने, सवारीसाधन उकालो चढ्न नसक्ने र घण्टौँसम्म जाम हुने समस्या रहेको उहाँले बताउनुभयो। सडक डिभिजन कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा पहिरो प्रभावित क्षेत्रमा भूमिगत पानी व्यवस्थापन र ढलान गरेको थियो। तर, हाल ढलान गरिएको सडकसमेत भासिएको छ।

जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सडकमा ग्राभेल राखेर मर्मत गरे पनि पुनः भासिने समस्या रोकिएको छैन। फसेका सवारीसाधनलाई डोजरको सहायताले निकाल्ने गरिएको उहाँले बताउनुभयो। पहिरोका कारण खबरा गाउँसमेत जोखिममा परेको छ। समस्या समाधानका लागि म्याग्दी र कालीगण्डकी नदीको दोभानमा तटबन्ध निर्माण गर्ने तथा पहिरोग्रस्त क्षेत्रमा सडकको सतह मिलाएर पक्की बनाउने पहल भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ।

Facebook Comments Box