कांग्रेस महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा तथा केही प्राविधिक कारणले समय परिवर्तन गरिएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चबाटै मतदान गर्नेछन्। प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

Facebook Comments Box