साइबेरियामा प्रयोगशाला कर्मचारीको मृत्यु, प्लेगको जोखिम नरहेको रुसको दाबी
साइबेरिया – साइबेरियामा प्लेगसम्बन्धी अनुसन्धान गर्ने प्रयोगशालाकी एक कर्मचारीको अज्ञात कारणले मृत्यु भएपछि रुसले महामारी फैलिने जोखिम नरहेको दाबी गरेको छ। रुसी स्वास्थ्य नियामक निकाय रोस्पोत्रेब्नाद्जोरका अनुसार २८ वर्षीया डार्या सिपिलोभाको गत शुक्रबार गम्भीर निमोनियाका कारण मृत्यु भएको हो। उनी प्लेगलगायत सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानमा संलग्न थिइन्।
मृत्युपछि उनको सम्पर्कमा आएका करिब दुई सय जनालाई सावधानीस्वरूप क्वारेन्टिनमा राखिएको थियो। तीमध्ये ९० प्रतिशतलाई क्वारेन्टिनबाट मुक्त गरिएको र करिब पाँच हजार प्रयोगशाला परीक्षण गर्दा कुनै खतरनाक रोगजनक फेला नपरेको रुसी अधिकारीहरूले बताएका छन्।
रुसी अधिकारीका अनुसार मृतक कर्मचारीले प्लेगविरुद्धको खोपसमेत लगाएकी थिइन्। त्यसैले कामका क्रममा खतरनाक सङ्क्रामक रोगबाट संक्रमित भएको सम्भावना न्यून रहेको उनीहरूको दाबी छ। तर, उनको मृत्युको वास्तविक कारण र निमोनिया गराउने रोगजनक अझै पुष्टि भएको छैन।
यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले घटनाबारे रुससँग थप विवरण मागेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयससले गम्भीर निमोनियाको कारण र सम्भावित सङ्क्रमणबारे स्पष्ट जानकारी आवश्यक रहेको बताएका छन्।डब्ल्यूएचओले हाल उपलब्ध विवरणका आधारमा सर्वसाधारणमा जोखिम न्यून रहेको आकलन गरे पनि मृत्युको कारण पुष्टि नभएकाले थप जानकारी आवश्यक रहेको जनाएको छ।
यता, रुसको राष्ट्रपतीय कार्यालय क्रेमलिनले घटनाबारे स्थापित प्रक्रियाअनुसार डब्ल्यूएचओलाई जानकारी गराइएको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारमाध्यममा आएका अधिकांश विवरण गलत रहेको दाबी गर्दै स्वास्थ्य नियामक निकायका आधिकारिक सूचनामा भर पर्न आग्रह गरेका छन्। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साइबेरियामा अर्का व्यक्तिको पनि प्लेगका कारण मृत्यु भएको दाबी गरिए पनि त्यसको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।

