१३ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । संसद् सचिवालयका अनुसार बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी सदस्यहरूलाई वितरण गरिनेछ । साथै, प्रस्तावित राजदूतहरूले समितिमा पेस गरेका कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराइनेछ ।
प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेको छ । त्यसमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध छन् भने पाँचवटा उजुरी एक–एक जना राजदूतलाई लक्षित गरी परेको छ । सरकारले असोज २ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जङ्गबहादुर राणालाई राजदूतमा सिफारिस गरेको थियो ।
यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।

