अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच उच्चस्तरीय भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंक अध्यक्ष बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटवार्ताका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा र सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा छलफल गरेका छन्।

अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिएका छन्।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका छन्। नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्चपदस्थ अधिकारीहरूको पनि सहभागिता थियो।

Facebook Comments Box