दशैंको अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग आज छलफल
काठमाडौँ । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ। विभागको सभा हलमा बिहान ११ बजे अग्रिम टिकट बुकिङका विषयमा छलफल हुने जनाइएको छ।
छलफलका लागि विभागले प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधिलाई बोलाएको छ।
दशैंमा काठमाडौँबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ नखुल्दा अन्योल बढेको छ। केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्। यसले यात्रुमा झनै अन्योल सिर्जना गरेको छ। दशैंमा टिकट नपाउने, बसपार्कमा लामो समय लाइन बस्नुपर्ने र यात्रामा सास्ती खेप्नुपर्ने समस्या दोहोरिँदै आएको छ। यही विषयलाई सम्बोधन गर्न विभागले सरोकारवालासँग छलफल गर्न लागेको हो। यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाड्ने अनुमान गरिएको छ।

