बाढीपहिरोका कारण बागमती र गण्डकीका सडक प्रभावित

काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका केही प्रमुख सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा असोज १० गते बिहान साढे १० बजे आएको बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाइएको छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोमा असोज १४ गते दिउँसो पहिरो खसेको थियो। हाल उक्त सडक एकतर्फी सञ्चालनमा आए पनि साना सवारीसाधन मात्र चल्न सक्ने र ठूला सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भन्दै प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

Facebook Comments Box