आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ ।
यस्तै, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित ऐन संशोधनसम्बन्धी विधेयक समितिमा पठाउन प्रस्ताव गर्ने कार्यक्रम छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी चार विधेयक समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको प्रतिनिधिसभा बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यक्रमसमेत रहेको छ । सभामुख डोलप्रसाद अर्यालले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गर्नुका साथै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ ।
यता, राष्ट्रियसभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन् । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा गरिएको संशोधनमा सहमति जनाउने प्रस्ताव प्रस्तुत हुनेछ । राष्ट्रियसभाको आजको बैठकबाट ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।

