फ्लाई दुबईको विमानमा भएको घटनाबारे ट्रम्पले नेतन्याहुसँग कुरा गरे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले विमानभित्र भएको घटनाबारे आफूलाई जानकारी गराएको बताएका हुन् । उनका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन तथा नियन्त्रणमा लिन प्रयास गरेका थिए ।
ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने’ भन्दै सहपाइलट आतंकवादी हुन सक्ने वा उनको मानसिक अवस्था ठीक नभएको हुन सक्ने बताएका छन् । यद्यपि, घटनाको वास्तविक कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका भारतीय पाइलटको प्रशंसा गर्दै उनलाई ‘हिरो’ समेत भनेका छन् ।
बुधबार दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाई दुबईको विमानमा घटना भएको हो । उडान भरेको करिब दुई घण्टापछि विमानले निर्धारित मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएर त्यहाँ अवतरण गरेको बताइएको छ । विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको बताइएको छ । आक्रमणमा परेका पाइलट स्मित मच्छर भारतीय नागरिक रहेको जनाइएको छ । घटनाको उद्देश्य तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।

