कृष्णभिर र तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र वडा नं. १० को तिङग्राङखानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

बेनीघाट रोराङ–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण कृष्णभिरमा पहिरो खस्ने क्रम जारी छ । नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार धादिङका अन्य स्थानमा समेत स–साना पहिरो खसेका छन् । ती स्थानमा भने सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ । सडक खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box