सप्तकोसीमा पानीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो

काठमाडौँ । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ । पछिल्लो मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड तीन लाख १६ हजार ७९५ क्युसेक पुगेको छ । पानीको बहाव तीव्र गतिमा बढिरहेपछि ब्यारेज प्रशासनले उच्च सतर्कता अपनाएको छ । पानीको सहज निकासका लागि कोसी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् ।

जलस्तर सुरक्षित सीमाभन्दा माथि पुगेपछि ब्यारेज क्षेत्रलाई ‘अति खतरा’को सूचीमा राखिएको छ । खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झन्डासमेत फहराइएको छ । शुक्रबार बिहान करिब एक लाख ९० हजार क्युसेक रहेको नदीको बहाव साँझसम्म बढेर दुई लाख ७८ हजार २७५ क्युसेक पुगेको थियो । सप्तकोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले कोसी नदी आसपासका होचा तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन् । यसअघि शुक्रबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव नारायण भट्ट तथा सुरक्षा निकायका प्रमुखले कोसी ब्यारेज क्षेत्रको निरीक्षण गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले वर्षाबाट हुनसक्ने सम्भावित क्षति रोक्न सम्बन्धित निकायलाई आवश्यक तयारी तथा प्रतिकार्यमा जुट्न निर्देशन दिनुभएको छ ।

Facebook Comments Box