वर्षाका कारण जापानसँगको खेल नतिजाविहीन, नेपाल क्वाटरफाइनलमा

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । वर्षाका कारण खेल करिब एक घण्टा ढिला सुरु भएको थियो । त्यसपछि खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५७ तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएर अविजित रहनुभयो । आसिफ शेखले २१ रन बनाउनुभयो । जापानका रियो साकुरानो–थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले एक–एक विकेट लिनुभयो ।नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा भएपछि पिच ढाकिएको थियो । वर्षा नरोकिएपछि जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन भएको हो ।

यो नतिजासँगै नेपालले समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोड्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ ।

Facebook Comments Box