पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौं–हेटौंडा आवागमन प्रभावित
काठमाडौं । धादिङको कृष्णभिरमा ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति पहिरो खसेपछि राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि कृष्णभिरमा पुनः पहिरो खसेपछि आवागमन रोकिएको हो। धादिङ प्रहरीले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ। तर निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही डाइभर्सनमा पहिरो खसेपछि अहिले राजमार्ग पुनः अवरुद्ध भएको हो। पहिरोका कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौंडातर्फको आवागमन प्रभावित भएको छ।
यसैगरी, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो खस्ने जोखिम बढेकाले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

