कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । हाल बागमतीसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशका थोरै स्थान तथा बागमतीको पहाडी र तराई भूभाग एवं गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ ।

कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box