त्रिशूली नदीको कटानले तारुकाघाट र दर्शनटारका बस्ती जोखिममा
नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ । कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन् । त्रिशूली नदीले बस्ती नजिकको जमिन तथा खेतबारी कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ । नदीको बहाव बढ्दै जाँदा बस्ती र खेतीयोग्य जमिनतर्फ कटान फैलिँदै गएको स्थानीयले बताएका छन् ।
धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटधाम पुग्ने सडक आसपाससमेत नदी कटानको प्रभाव देखिएको छ । नदी किनारमा रहेका घर, खेतबारी तथा अन्य संरचना जोखिममा परेपछि स्थानीयले कटान रोक्न तत्काल तटबन्ध तथा नदी संरक्षणका काम अघि बढाउन माग गरेका छन् । बाढीपछि नदीमा थुप्रिएको ढुंगा, बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धारसमेत परिवर्तन भएको छ । यसले नदी कटानको जोखिम थप बढाएको स्थानीयको भनाइ छ ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग स्थानीयले गरेका छन् । भोटेकोशी बाढीपछि त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन र जोखिमयुक्त बस्तीको पहिचान गरी तत्काल सुरक्षा उपाय अपनाउनुपर्ने अवस्था देखिएको छ । स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालीन र दीर्घकालीन सुरक्षाका उपाय अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

