सडक भासिएपछि कर्मैया–पिपलमाडी सडक एक सातादेखि ठप्प

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमतीबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने कर्मैया–पिपलमाडी सडक भासिएपछि एक सातादेखि यातायात ठप्प भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य वस्तु, उपचार तथा अन्य कामका लागि हेटौँडा वा सिन्धुली हुँदै घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

हरिहरपुरगढी गाउँपालिका–६ कौवादहमा भारी वर्षापछि सडक भासिएर बागमती नदीतर्फ बगेपछि यातायात अवरुद्ध भएको हो । सडकको छेउमा रहेको नालाबाट मानिस वारपार गर्ने ठाउँ मात्र बाँकी रहेको स्थानीयले बताएका छन् । सडक बन्द भएपछि कर्मैया–पिपलमाडीमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारीसाधन थन्किएका छन् । कतिपय स्थानीय पैदल हिँडेर आवतजावत गर्न तथा चामललगायत खाद्य सामग्री नाम्लो र थाप्लोमा बोकेर ओसार्न बाध्य भएका छन् ।

बागमती निवासी बस व्यवसायी किस्मतराज मैनालीले सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार अन्तरप्रदेश जोड्ने छोटो दूरीको सडक भए पनि यसको नियमित मर्मतसम्भारमा सम्बन्धित तहले पर्याप्त चासो नदिँदा बर्सेनि समस्या दोहोरिने गरेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत कर्मैया–पिपलमाडी सडक कालोपत्रका लागि ठेक्का लागिसकेको भए पनि निर्माण व्यवसायीले काममा ढिलाइ गरेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । उहाँ मुस्ताङको कार्यक्रम सकेर फर्किएपछि सडकको अवस्था निरीक्षण गर्न जाने तयारीमा हुनुहुन्छ ।

अध्यक्ष वाइबाका अनुसार सडक निर्माणमा राजनीतिक हस्तक्षेप तथा सम्बन्धित निकायको बेवास्ताका कारण काम अघि बढ्न सकेको छैन । सडकको अवस्था समयमै सुधार नहुँदा नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका उहाँले बताउनुभयो । यस सडकबाट दैनिक २० देखि २५ वटा मोटरसाइकलमा सर्लाही र रौतहटका माछा व्यापारीले सिन्धुली तथा मकवानपुरका विभिन्न क्षेत्रमा माछा पुर्‍याउने गरेका थिए । सडक अवरुद्ध भएपछि व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।

मधेश र बागमती प्रदेशलाई जोड्ने ‘लिङ्क रोड’का रूपमा रहेको कर्मैया–पिपलमाडी सडक १६ किलोमिटर लामो छ । त्यसमध्ये सर्लाहीतर्फ करिब डेढ किलोमिटर मात्र पर्छ । यही क्षेत्रमा पर्ने चुरे पहाडको जोखिमयुक्त भागमा वर्षायाममा पटक–पटक पहिरो जाने गरेको यातायात व्यवसायीले बताएका छन् । गत वर्ष असोजमा पनि सर्लाहीको बागमती नगरपालिका–११ परेवा भीरमा पहिरो खसेपछि एक साताभन्दा बढी समय यातायात ठप्प भएको थियो ।

Facebook Comments Box