भोटेकोशी बाढीमा १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता
काठमाडौँ – गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट देशभरका नौ यातायात कम्पनीका सवारीसाधनमा क्षति पुगेको हो । ती सवारीसाधनका चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएका छन् ।
महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ भने ५० जना मजदुर बेपत्ता छन् । नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १९ बसमा क्षति हुँदा २१ जना तथा भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति हुँदा दुई चालक बेपत्ता भएका छन् ।
यस्तै, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ चालक बेपत्ता भएका छन् । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति हुँदा ७० जना बेपत्ता भएका छन् ।
नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ भने पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति हुँदा एक चालक र २२ यात्रु बेपत्ता भएका छन् । यसैगरी, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति हुँदा चालकसहित २५ तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले जानकारी दिनुभयो ।

