कालीगण्डकी करिडोरको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नति तीव्र

म्याग्दी – चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले गलेश्वरदेखि मुस्ताङको लेते–सेतोखोला क्षेत्रसम्म यसअघि ठेक्काबाट हटाइएका पहिरो प्रभावित स्थानमा बाँकी काम अघि बढाएको हो ।

पहिरो नियन्त्रण, नदी कटान रोकथाम, टेवा पर्खाल निर्माण तथा सडक ढलानको काम विभिन्न प्याकेजमा भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान तथा दुई हजार ३०० घनमिटर ग्यावियन, प्लम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीसँग ठेक्का सम्झौता भएको छ ।

यस्तै, कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी क्षेत्रमा रु आठ करोडको लागतमा कालीमाता–थापाकाजी–रसुवा जेभीले टेवा पर्खाल, कल्भर्ट निर्माण तथा सडक ढलानको काम गरिरहेको छ । भिरकाटेमा विस्फोटक पदार्थ प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खा र सवारीसाधनको चापका कारण रोकिएको छ ।

ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्यावियन जाली तथा प्लम र कङ्क्रिट पर्खाल निर्माण गरी सडक संरक्षणसँगै करिब दुई किलोमिटर सडक ढलान गरिने आयोजनाले जनाएको छ । यसैगरी, सिरुवारी, तातोपानीलगायत जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रण तथा सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको छ ।

बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रमा रु २५ करोडमा सम्झौता भएका सडक स्तरोन्नतिका काम पनि अन्तिम चरणमा पुगेका छन् । कमजोर भू–बनोटका कारण म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोले यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति र पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

Facebook Comments Box