आज ऋषि पञ्चमी पर्व मनाइँदै
काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी । हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । यस अवसरमा नारीहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ ।
तीजमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यस दिन नारीहरूले सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन् । पूजा–आराधना सम्पन्न भएपछि कर्कलोलगायत कन्दमूलका तरकारी बनाएर खाने प्रचलनसमेत रहेको छ । कर्कलोमा आइरनलगायत शरीरका लागि आवश्यक पोषक तत्त्व पाइने बताइन्छ ।

