आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ – ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको प्रवर्द्धन र संरक्षणमा नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको छ ।

यस वर्ष भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका तथा स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

यस्ता बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्शलगायत आवश्यक सेवा उपलब्ध गराउन राज्यले काम गरिरहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज राष्ट्रिय बाल अधिकार परिषद्सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले बाल अधिकारसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

Facebook Comments Box