ह्यारी केनको निर्णायक गोलमा बायर्नको साँघुरो जित

काठमाडौँ – कप्तान ह्यारी केनको निर्णायक गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा एल्भर्सबर्गलाई २–१ ले पराजित गरेको छ । गएराति भएको खेलमा बायर्नले सुरुवाती अग्रता लिए पनि एल्भर्सबर्गले खेलमा फर्किँदै बराबरी गरेको थियो । अन्ततः केनले गोल गरेपछि बायर्नले साँघुरो जित निकाल्यो ।

खेलको २६औँ मिनेटमा लेनार्ट कार्लले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि एल्भर्सबर्गका मौरिस क्र्याटेनमेकरले ६१औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ७२औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा केनको गोल नै बायर्नको जितका लागि निर्णायक बन्यो ।

यससँगै केनले बुन्डेसलिगामा ९७ खेलमा ९९ गोल पूरा गरेका छन् । सन् २०२६–२७ को लिग सिजनमा उनको यो पहिलो गोल हो । सन् २०२३ को अगस्टमा टोटनह्यामबाट बायर्नमा आबद्ध भएयता केनले सबै प्रतियोगितामा १५३ खेलमा १५० गोल गरेका छन् । एल्भर्सबर्गविरुद्धको गोल उनको बायर्नका लागि १५०औँ गोल हो ।

३३ वर्षीय केन सन् २०२६ को बालोन डी’ओरका दाबेदारसमेत हुन् । आगामी अक्टोबरमा लन्डनमा बालोन डी’ओर प्रदान गरिनेछ । केनले ४३ खेलमै ५० बुन्डेसलिगा गोल पूरा गरेर कीर्तिमान कायम गरेका थिए । अब उनी बुन्डेसलिगामा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडी बन्ने क्रममा छन् ।

बुन्डेसलिगामा हाल सबैभन्दा छिटो १०० गोल पूरा गर्ने कीर्तिमान डिटर मुलरको नाममा छ । उनले १२९औँ खेलमा १०० गोलको आँकडा पार गरेका थिए । केनले ९७ खेलमै ९९ गोल पूरा गरेकाले उक्त कीर्तिमान तोड्ने सम्भावना बलियो बनेको छ ।

Facebook Comments Box