वाणगंगा नदीको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामा ११ जना महिला र एक जना पुरुष छन् । घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू पहाडी क्षेत्रमा ठूलो वर्षा भएपछि वाणगंगा नदीमा एक्कासि बाढी आउँदा नदीमै फसेका थिए ।

नदीमा पानीको बहाव बढेपछि उनीहरू फर्कन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले भदौ २७ गते राति करिब ८ः३० बजे उनीहरूको उद्धार गरेको हो ।सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाढीमा फसेका सबैलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ ।

उद्धार गरिएकामा कपिलवस्तु नगरपालिका–६ का ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मिना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन् ।

नदीमा अचानक बाढी आएपछि जोखिममा परेका उनीहरूको समयमै उद्धार गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । पहाडी क्षेत्रमा परेको वर्षाका कारण तराईका नदी तथा खोलामा एक्कासि पानीको सतह बढ्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box