हुथी विद्रोहीद्वारा यमनको रणनीतिक बन्दरगाह मोचा कब्जा

यमन – यमनका हुथी विद्रोही समूहले रणनीतिक महत्त्वको रेड सी बन्दरगाह सहर मोचा कब्जा गरेको छ । प्रत्यक्षदर्शीका अनुसार सहर कब्जा गरेपछि हुथी लडाकुहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए । इरान समर्थित हुथीले गत सातादेखि साउदी अरब समर्थित यमनी सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गर्दै आएका छन् । उनीहरूले साउदी भूभागमा समेत आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् ।

मोचा कब्जा गरेपछि हुथीहरू रणनीतिक बाब अल–मन्दब जलमार्गतर्फ अघि बढिरहेको यमनी सैन्य स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बाब अल–मन्दबले रेड सी र स्वेज नहर हुँदै एसियालाई युरोपसँग जोड्ने भएकाले विश्व व्यापार तथा समुद्री यातायातका लागि महत्वपूर्ण मानिन्छ ।

सैन्य स्रोतका अनुसार हुथीहरूले रकेट आक्रमण तथा लडाकु बोकेका डुंगाको प्रयोग गरी दक्षिणी रेड सीको जुकार टापु पनि कब्जा गरेका छन् । मोचा नियन्त्रणमा राख्दै आएको यमनी राष्ट्रिय प्रतिरोध बलले भने आफ्नो कमान्ड सेन्टर सुरक्षित स्थानमा सारेर पुनर्गठन गरेको जनाएको छ ।

यसअघि नै हुथीहरूले यमनको उत्तरको ठूलो भूभाग, राजधानी साना र रेड सीको प्रमुख बन्दरगाह होदैदा नियन्त्रणमा राख्दै आएका थिए । मोचा र आसपासका क्षेत्रमा हुथीको अग्रसरतापछि धेरै मानिस एडेनतर्फ विस्थापित भएका छन् । एडेन अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारको प्रशासनिक केन्द्र हो ।

हुथीको तटीय क्षेत्रमाथिको नियन्त्रणले रेड सीमा उनीहरूको समुद्री प्रभाव थप बलियो बन्न सक्ने सुरक्षा विज्ञहरूले बताएका छन् । क्षेत्रीय द्वन्द्वका कारण समुद्री यातायात प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढेको छ । अमेरिकी तेल मानक डब्ल्यूटीआईको मूल्य बिहीबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ भने अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य पनि बुधबार नै १०० डलर नाघेको थियो ।

Facebook Comments Box