भेडागोठमा लालबिरका सात दशक
म्याग्दी । शिरमा ढाका टोपी, इस्टकोटमाथि सेतो भाङ्ग्रा, ट्याक पाइन्ट र घुँडासम्म आउने गमबुट। ८१ वर्षीय लालबिर तिलिजाको दैनिकी अहिले पनि भेडाबाख्राको बथानसँगै बित्छ। उमेरले आठ दशक पार गरे पनि उहाँको सक्रियता युवावस्थाको भन्दा कम छैन।समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरखोला क्षेत्रमा भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा पुगेका भेडाबाख्राको बथान पछ्याउन भ्याइनभ्याई थियो।
“जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आइपुग्दा चार पुस्ता भयो,” लालबिरले भन्नुभयो, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छाडेको छैन।” हाल उहाँसँग करिब १६० वटा भेडाबाख्रा छन्। हिउँदमा चिसो छल्न घुम्ती गोठ लिएर बेँसी झर्ने उहाँ गर्मीमा भने पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्र पुग्नुहुन्छ।
बुढ्यौली बढ्दै गएपछि लालबिरले भतिज टेकजित तिलिजासँग संयुक्त गोठ सञ्चालन गर्न थाल्नुभएको छ। खयरखोला र नौलोबन क्षेत्रमा पाउद्वारका तीनवटा भेडागोठ छन्, जहाँ करिब दुई हजार भेडाबाख्रा पालिएका छन्। जेठमा गोठालाहरू लेक उक्लेपछि गाउँबाट आफन्तले हप्तादेखि १० दिनको अन्तरालमा खाद्यान्न पुर्याउने गर्छन्।
लालबिरका लागि भेडापालन केवल परम्परा मात्र होइन, परिवारको मुख्य आयस्रोत पनि हो। “घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोत नै भेडापालन हो,” उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काएँ र पढाएँ।” उहाँका अनुसार एक समय गोठमा ५०० भन्दा बढी भेडाबाख्रा थिए। अहिले पनि वार्षिक करिब ५० वटासम्म भेडाका साँढ, खसी तथा बोका बिक्री हुन्छन्।
जनैपूर्णिमामा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा गरेका भक्तजनले गोठबाटै साँढ तथा बोका किनेर बलि चढाउन लैजाने गर्छन्। एउटा साँढको मूल्य २० देखि ३५ हजार रुपैयाँसम्म पर्ने लालबिरले बताउनुभयो। दसैँ, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति र भूमे पूजाजस्ता पर्वमा पनि मासुका लागि भेडाबाख्रा बिक्री हुन्छन्।
सहरको सुविधाभन्दा स्वच्छ हावापानीमा गोठालो जीवन बिताउन आफूलाई रमाइलो लाग्ने लालबिर बताउनुहुन्छ। उहाँका समकालीन धेरैजना भारतीय तथा बेलायती गोर्खा सैनिकमा भर्ती भए पनि आफू भने वनपाखामै रमाएको सुनाउनुहुन्छ।
भेडाबाख्रा बेचेर गरेको आम्दानीबाट पोखरामा घडेरी किनेर घरसमेत बनाउनुभएको थियो। तर, छोराछोरीको आग्रहमा एक वर्ष पोखरा बसेपछि आफूलाई गोठको जीवन नै सहज लागेको उहाँ बताउनुहुन्छ। “शरीर र स्वास्थ्यले साथ दिएसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ,” उहाँले भन्नुभयो।
प्रविधिको विकाससँगै अहिले घुम्ती गोठमा बस्दा पनि गाउँघरका आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन। लालबिर मनोरञ्जनका लागि रेडियो सुन्नुहुन्छ र मोबाइल प्रयोग गर्नुहुन्छ। राति उज्यालोका लागि गोठमा घुम्ती सोलार प्यानल राखिएको छ। चितुवा र ब्वाँसोबाट भेडाबाख्रा जोगाउन भोटे जातका कुकुरसमेत पाल्ने गरिएको छ। एउटा गोठमा कम्तीमा तीनवटा कुकुर राख्ने गरिएको छ।
तर, परम्परागत घुम्ती गोठ सञ्चालनमा चुनौती पनि बढ्दै गएको लालबिरको अनुभव छ। लेकाली क्षेत्रमा विषालु घाँस पलाउनु र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव हुनु प्रमुख समस्या बनेको छ। तापक्रम वृद्धिका कारण विषालु घाँस बढ्न थालेको र चरन क्षेत्रसमेत घट्दै गएको उहाँको अनुभव छ।
त्यसैगरी वन्यजन्तुको आक्रमण र गोठमा बस्ने जनशक्ति पाउन कठिन हुँदै जानु पनि भेडापालनका लागि चुनौती बनेको छ। यस्ता चुनौतीबीच पनि चार पुस्तादेखि चल्दै आएको भेडापालन परम्परालाई लालबिरले आफ्नो जीवनको अभिन्न हिस्सा बनाइरहनुभएको छ।

