परेवाभिर सडकखण्डमा आज १२ घण्टा सवारी आवागमन बन्द

धादिङ, २० भदौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार क्षतिग्रस्त सडकको मर्मतका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रमा सडकमा क्षति पुगेपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो। सडक मर्मतका लागि पूर्ण रूपमा बन्द गरेर काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ। मर्मत अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सडक बन्दका कारण यात्रु तथा सवारीचालकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै निर्धारित अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

Facebook Comments Box