भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना
काठमाडौँ, १९ भदौ – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा दिउँसो भारी वर्षाको सम्भावना छ। अन्य प्रभावित क्षेत्रमा भने मध्यम वर्षा हुनसक्ने उहाँले बताउनुभयो।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ। अहिले देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेसका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती र गण्डकीका हिमाली भू–भाग, देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीसमेत चल्नसक्नेछ। विभागका अनुसार आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी बिर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। विभागले आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

