उपत्यका बाहिरबाटै एलपी ग्यास सिलिन्डर बोटलिङ गरी काठमाडौँ पठाउन थालियो
चितवन, १८ भदौ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौँमा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरका उद्योगबाटै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै पनि काठमाडौँ प्रवेश गर्न नसकेपछि उद्योगहरूले राजधानी बाहिरका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर बोटलिङ गरेर पठाउन थालेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यासमा भरेर काठमाडौँ पठाउन थालिएको छ । चितवनको बाबा ग्यासले मङ्गलबार श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिनुभयो । श्री ग्यासको प्लान्ट धादिङको नौबिसेमा छ ।
यस्तै, चितवनको साइबाबाले आफ्ना ९०० सिलिन्डर र नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका एक हजार २०० सिलिन्डर भरेर पठाएका छन् । गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम ग्यास तथा हेटौँडाको साहारामा काठमाडौँका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर बोटलिङ गरी पठाइएको छ ।
कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्ति नघटेको बताउनुभयो । बुलेट काठमाडौँ पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास बोटलिङ गरी ट्रकमार्फत पठाइरहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्चमध्ये रहेको छ । सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उहाँले बताउनुभयो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको छ । उपत्यका र आसपासका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर उपत्यका पठाउन थालेका छन् । उपत्यका र छिमेकी जिल्लामा देशको कुल एलपी ग्यास खपतको करिब ४० प्रतिशत हुने भएकाले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति कायम राख्न थालिएको सङ्घले जनाएको छ ।

