गण्डक नदीमा १३ अज्ञात शव फेला, नेपाललाई जानकारी गराउँदै भारत

काठमाडौँ, १६ भदौ – नेपालको रसुवामा ठूलो जनधनको क्षति हुने गरी आएको भोटेकोशी बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ । कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीमा १३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ६ पुरुष र सात महिला रहेका छन् ।

बीबीसी हिन्दीका अनुसार फेला परेका १३ शवमध्ये छवटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ । शवगृहमा पर्याप्त ठाउँ नभएपछि बाँकी सात शवलाई गोरखपुरस्थित एम्स पठाइएको छ । थप शव फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतको एसडीआरएफ र एनडीआरएफ टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

कुशीनगरका प्रमुख जिल्ला अधिकारी वन्दिता श्रीवास्तवले शवसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । उहाँका अनुसार जिल्ला प्रशासन नेपाली अधिकारीसँग सम्पर्कमा रहेको छ भने विदेश मन्त्रालयमार्फत फेला परेका शवबारे नेपाललाई जानकारी गराइएको छ ।

पोस्टमार्टम तथा अन्य आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिने प्रशासनले जनाएको छ । नेपालबाट आफ्ना आफन्तको खोजी तथा शव पहिचानका लागि आउने व्यक्तिलाई सहयोग गर्न कुशीनगर प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको छ । यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि नेपालमा अझै तीन हजार ९२५ जना सम्पर्कविहीन छन् ।

सोमबार साँझ ७ बजेसम्म नदी किनारका विभिन्न स्थानबाट ९३९ वटा शव फेला परेको प्राधिकरणले जनाएको छ । तीमध्ये सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । प्राधिकरणका अनुसार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८ र तनहुँमा ३८ शव फेला परेका छन् ।

बाढीपछि नेपालतर्फ विभिन्न नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेको छ भने भारततर्फ नारायणी नदीमा समेत शव भेटिन थालेपछि दुवै देशका सुरक्षा तथा उद्धार निकायले खोजी र पहिचानको काम अघि बढाइरहेका छन् ।

Facebook Comments Box