भोटेकोशी बाढी : १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
चितवन, १५ भदौ। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १२ शवको सनाखत भएको छ भने १९९ शवको व्यवस्थापन गरिएको छ। सनाखत हुन नसकेका शवको डिएनए नमूना सुरक्षित राखिएको छ। बेपत्ता व्यक्तिका परिवारसँग डिएनए परीक्षण गर्दा मिलान भएमा शव पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा अन्य अर्थात् मानव अवशेष रहेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

