बाढी–पहिरोको जोखिमले मुख्य राजमार्गमा आवागमन प्रभावित
काठमाडौँ । अविरल वर्षा र सम्भावित बाढी–पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ। सुनकोशी नदीमा जलसतह सतर्कता तह पार गरेसँगै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा विशेष सावधानी अपनाइएको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइनेछ।त्यस्तै, कान्ति लोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
टोखा–छहरे सडकखण्डको शिवपुरी–८ स्थित घट्टेखोला क्षेत्रमा समेत जोखिम बढेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यस्तै, मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। रसुवाका मुख्य राजमार्गहरू यसअघि साउन १० गतेदेखि नै बाढीका कारण प्रभावित हुँदै आएका छन्। यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने–आउने सवारीसाधनको आवागमन भने पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
रसुवा क्षेत्रमा भोटेकोशीको बहाव बढेको सूचनापछि केही समय रोकिएका सवारीसाधनलाई अहिले गन्तव्यतर्फ जान अनुमति दिइएको छ। प्रहरीले वर्षाको समयमा बाढी, पहिरो तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

