विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
खोटाङ, ७ भदौ – हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तथा विपन्न तीन परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाएका छन्। गरिबीका कारण आफ्नै लगानीमा घर बनाउन नसक्ने ती परिवारका लागि नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानीमा दुई कोठे एकतले घर निर्माण गरी हस्तान्तरण गरेको हो।
नगरपालिकाले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका देशवीर राई, वडा नं ६ मङ्गलटारका भया दमाई र वडा नं १० अर्खौलेका टेकबहादुर सार्कीलाई नयाँ घर हस्तान्तरण गरेको हो। वृद्ध दम्पती मात्रै रहेको डिकुवाका देशवीर राईको परिवार यसअघि जीर्ण कटेरोमा बस्दै आएको थियो। लामो समयदेखि असुरक्षित घरमा बस्दै आएका वृद्ध दम्पतीका लागि नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो।
मङ्गलटारका चामे दमाई र भया दमाई दाजुबहिनीको अवस्था पनि उस्तै थियो। अपाङ्गता भएका दाजुबहिनीका लागि नगरपालिकाले भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ। अर्खौलेका टेकबहादुर सार्कीको परिवार पनि लामो समयदेखि घरविहीन थियो। करिब १२ वर्षदेखि गाउँबाहिर विभिन्न स्थानमा बस्दै आएको सार्की परिवार गत वर्ष गाउँ फर्किएपछि अरुको घरमा आश्रय लिएर बस्दै आएको थियो। दिक्तेलमा बसोबास गरिरहेका बेला १२ वर्षीया छोरी मृत भेटिएपछि परिवार गाउँ फर्किएको जनाइएको छ।
गाउँ फर्किएपछि नगरपालिकाले सार्की परिवारलाई खाद्यान्न तथा केही नगद सहयोगसमेत गरेको थियो। गाउँमै बसेर जीविकोपार्जन गर्न चाहेको तर आफ्नै घर नभएका कारण समस्या भएपछि नगरपालिकाले घर निर्माण गरिदिएको हो। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो।
“नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ। आफ्नो घरको अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता गरिनेछ,” उहाँले भन्नुभयो।
नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका र घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई समेत पुनःस्थापना गर्ने निर्णय गरेको प्रमुख राईले बताउनुभयो। नगरपालिकाबाहिर बसेका अवस्थामा घरटहरा भत्काइएपछि विस्थापित भएका तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएको उहाँले जानकारी दिनुभयो।
नगरपालिकाका अनुसार विस्थापित परिवार आफ्नै नगरपालिका फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहेमा प्रतिपरिवार रु पाँच लाख लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिनेछ। पुनःस्थापित हुन चाहने परिवारको नाममा घर निर्माणका लागि आवश्यक जग्गा भने हुनुपर्नेछ। नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले विपन्न तीन परिवारका लागि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो।

