राहुपारेको अस्थायी बस्ती हटाइयो, सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने अभियान

म्याग्दी, ३ भदौ – म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेमा ११ वर्षदेखि बस्दै आएका पहिरो पीडितको अस्थायी बस्ती खाली गराई घरटहरा हटाइएको छ। सामुदायिक वन क्षेत्रको सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका पहिरो पीडितले वैकल्पिक बसोबासको व्यवस्था भएपछि बस्ती छाडेका हुन्। उनीहरुले ठाउँ खाली गरेपछि गाउँपालिकाले मंगलबार डोजर परिचालन गरी टहरा तथा अन्य संरचना हटाएको हो।

गाउँपालिकाले यसअघि पटकपटक सार्वजनिक सूचना तथा मौखिक रूपमा बस्ती खाली गर्न आग्रह गरेको थियो। गाउँपालिका र अस्थायी टहरामा बस्दै आएकाबीच साउन मसान्तभित्र बस्ती खाली गर्ने सहमति भएको थियो। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल र वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर शाहीसहितको टोलीको उपस्थितिमा टहरा हटाइएको हो।

गाउँपालिकाको असार ३१ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र तथा सार्वजनिक उपयोगका लागि छुट्याइएको स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।उहाँका अनुसार गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य स्थानको समेत खोजी गरी अतिक्रमणमुक्त बनाउने अभियान अघि बढाइनेछ।

वि.सं. २०७२ जेठ १० गते अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पहाडबाट खसेको पहिरोले बैँसरी बस्ती पुरिएपछि २६ घरपरिवार विस्थापित भएका थिए। विस्थापितमध्ये केही राहुपारेमा अस्थायी टहरा बनाएर बस्दै आएका थिए भने केही बैँसरीमै फर्किएका र केही गलेश्वर, बेनी तथा पोखरालगायतका स्थानमा बसोबास गर्दै आएका छन्। अस्थायी बस्ती खाली भएपछि गाउँपालिकाले टहरा भत्काउनुका साथै त्यहाँबाट निस्किएको भौतिक संरचनाको फोहोरसमेत व्यवस्थापन गरेको जनाएको छ।

Facebook Comments Box