जाजरकोटमा बाढीपहिरोमा परी एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट, ३१ साउन – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाइते भएका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीयवासी परिचालन हुने तयारी भइरहेको छ । बाढीपहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्र तथा वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी क्षेत्र जोखिममा परेका छन् । यस्तै वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती पनि उच्च जोखिममा रहेको जनाइएको छ ।अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

Facebook Comments Box