एक महिने गुँला पर्व सुरु, स्वयम्भूमा भक्तजनको चहलपहल बढ्यो

काठमाडौँ, २८ साउन – नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ । नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइने यस पर्वमा बौद्ध धर्मावलम्बीले परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्नुका साथै विशेष पूजा–आराधना गर्ने परम्परा छ ।

गुँला पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ । पर्वका अवसरमा बाजागाजासहित स्वयम्भूको परिक्रमा गर्ने गरिन्छ । बौद्ध धर्मावलम्बीको प्रमुख पर्व भए पनि पछिल्लो समय अन्य समुदायका मानिससमेत सहभागी हुने गरेका छन् ।पर्व अवधिभर भक्तजनले स्वयम्भू महाचैत्य, बौद्धनाथ, पाटनको पुलचोकसहित उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको परिक्रमा गर्ने गर्छन् । टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवीदेवताको दर्शन गर्ने परम्परा पनि छ ।

गुँला पर्वको प्रमुख विशेषताका रूपमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजालाई लिइन्छ । यसका साथै धाः, धिमे, भुस्या र बाँसुरीलगायत परम्परागत बाजा बजाउने गरिन्छ । बाजागाजासहित चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन र भैरवलगायत देवीदेवताको पूजा तथा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

खेतीपातीको मुख्य काम सकिएपछि केही फुर्सदिलो समय हुने र अन्य चाडपर्वको आगमनसँगै सामुदायिक रूपमा खुसी साटासाट गर्ने उद्देश्यले पनि गुँला पर्व मनाउने गरिएको बताइन्छ ।पर्व अवधिभर बौद्ध धर्मावलम्बीले बुद्धको विशेष पूजा–आराधनाका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्नेछन् ।

पछिल्ला वर्षमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको स्थानीयको भनाइ छ । यसले नेवार समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म निरन्तरता दिन सहयोग पुगेको बताइएको छ । एक महिनासम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ गुँला पर्व मनाइनेछ ।

Facebook Comments Box