अविरल वर्षा र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ, २६ साउन – पछिल्ला केही दिनदेखि भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्ड पूर्ण रूपमा बन्द छन् ।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि बन्द रहेको छ । कोशी प्रदेशमा इलामस्थित मेची राजमार्गअन्तर्गत झापा–ताप्लेजुङ सडकखण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुरस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ ।
गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प छ । बागलुङको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर तथा सुदूरपश्चिमको बाजुरामा कर्णाली करिडोरअन्तर्गत कालीकोट–हुम्ला सडकखण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सडक तथा राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न र जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

