मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २४ साउन – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल देशभर सामान्यतया बदली रही बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र बागमतीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ।

