लखन्देही खोलाको बाँध भत्किँदा सर्लाहीमा १५ सय बिघा धानखेत डुबानमा

सर्लाही, २२ साउन – लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेको छ। भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्। सोमबार राति कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्किएपछि बाढी बस्ती र खेतमा पसेको हो। बाढीका कारण कौडेना, खुटौना र भाडसर क्षेत्रका धानखेत, केही घर तथा गोठसमेत प्रभावित भएका छन्।

लगातार चार दिनदेखि डुबान कायम रहेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। भत्किएको बाँध नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। बालुवा भरिएका बोरा प्रयोग गरेर बाँध थुन्ने प्रयास भइरहेको छ।

स्थानीय किसानहरूले हरेक वर्ष डुबानका कारण खेतीमा ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गर्दै स्थायी तटबन्ध निर्माण र दीर्घकालीन समाधानको माग गरेका छन्। गाउँपालिका अध्यक्ष रुपेश कुमारले पनि समस्या पुरानै रहेको उल्लेख गर्दै स्थायी समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको जानकारी दिनुभएको छ।

Facebook Comments Box