मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १९ साउन – देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

विभागले हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात, पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

Facebook Comments Box