प्रतिनिधिसभाको बैठक आज बस्दै, कानुन संशोधन विधेयक र शोक प्रस्ताव पेश हुने
काठमाडौं, १४ साउन – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा कानुन संशोधनसम्बन्धी विधेयक र शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
त्यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैबीच, संसद्को विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ बजे बस्नेछ। बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने सचिवालयले जनाएको छ।

