काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा करिब ३८ प्रतिशत प्रगति

झापा, ११ साउन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ। सडक विभागका अनुसार ९५ किलोमिटर लामो आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक विस्तारको काम पछिल्लो समय तीव्र रूपमा अघि बढिरहेको छ।

आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव ५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ। मौसम अनुकूल रहे दैनिक चार सयदेखि आठ सय मिटरसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ। आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो।

इभरस्कोन–कालिका जेभीले निर्माण गरिरहेको पूर्वी खण्डको ठेक्का लागत १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ रहेको छ। निर्माण कार्य २०८० माघदेखि सुरु भएको हो भने २०८३ माघभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भइरहेको यो आयोजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेन, बीचमा तीन मिटर चौडा डिभाइडर तथा दुवैतर्फ सर्भिस लेनसहित आधुनिक सडक संरचना निर्माण हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box