सुनसरीमा पिकअप दुर्घटना, चालकको मृत्यु

इनरुवा, २५ असार – सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप बुधबार राति अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोरङको रङ्गेली नगरपालिका–३ दर्वेशा निवासी ४२ वर्षीय चालक पदम राई गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याइए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पिकअपमा सवार सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। उहाँको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box