सर्लाहीमा मोबाइल व्यवसायीमाथि लुटपाट प्रयास, गोली प्रहार
सर्लाही, २५ असार – सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयासका क्रममा गोली प्रहार भएको छ। बुधबार राति लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार लालबन्दी नगरपालिका–७ मा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुर निवासी हरिप्रसाद सापकोटा पसल बन्द गरेर साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला अपरिचित व्यक्तिले लुटपाटको प्रयास गरेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार लुटपाटका क्रममा सामान्य धकेलाधकेल भएपछि आक्रमणकारीले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। घटनास्थलबाट प्रहरीले पड्किएका दुई वटा गोलीका खोका बरामद गरेको छ। गोली प्रहार भए पनि व्यवसायी सापकोटा र उहाँसँग रहेका साथी दुवै सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो।
घटनापछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो। बिहीबार बिहान २ बजेसम्म खोजी अभियान सञ्चालन गरिए पनि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। मोबाइल व्यवसायीमाथि भएको लुटपाट प्रयास र गोली प्रहारको घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीय जनप्रतिनिधिले पनि घटनाले क्षेत्रमा असुरक्षाको भावना बढाएको बताएका छन्।

