१४ वर्ष बित्दा पनि बनेन कमला पुल, हरेक वर्ष सास्ती भोग्दै स्थानीय

सिरहा, २३ असार – हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल १४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माणमा भएको निरन्तर ढिलाइका कारण सिरहा र धनुषाका हजारौँ स्थानीय बर्सेनि आवतजावत, कृषि उत्पादन ढुवानी तथा स्वास्थ्य सेवामा पहुँचका लागि सास्ती भोग्न बाध्य छन्।

विसं २०६८ मा निर्माण सुरु हुँदा वर्षायाममा सहज आवागमन, प्रदेश राजधानी जनकपुरधामसम्म छोटो दूरीमा पुग्ने सुविधा, कृषि उपजको सहज ढुवानी तथा स्थानीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको थियो। तर अहिले पनि नदीको बीचमा अधुरा पिलर र खिया लागेका फलामे संरचनाले आयोजना अलपत्र रहेको अवस्था झल्काइरहेका छन्।

निर्माण अवधिमा पटक–पटक सरकार फेरिए, मन्त्री तथा उच्च अधिकारीले स्थलगत अनुगमन गरे, ठेकेदारको म्याद नौ पटकसम्म थपियो र प्रगति प्रतिवेदन तयार भए। तर स्थानीयका अनुसार कागजमा ९३ प्रतिशत भौतिक प्रगति देखिए पनि पुल सञ्चालनमा आउन सकेको छैन।

सिरहा नगरपालिका–३ का किसान बलराम यादवका अनुसार पुल नहुँदा वर्षायाममा स्थानीयले अझै पनि पुरानो काठको डुङ्गामा ज्यान जोखिममा राखेर नदी वारपार गर्नुपर्ने अवस्था छ। यसले दूध, तरकारीलगायत कृषि उत्पादन समयमै बजार पुर्‍याउन कठिनाइ हुनुका साथै बिरामी, सुत्केरी र वृद्धवृद्धालाई अस्पताल लैजानसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो।

हुलाकी राजमार्गअन्तर्गत तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो पुल तत्कालीन २४ करोड ९० लाख ९७ हजार २०० रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो। योजनाअनुसार पुलसँगै एक हजार ३०० मिटर तटबन्ध र २०० मिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने थियो। हालसम्म २३ करोड १९ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसके पनि आयोजना पूरा हुन सकेको छैन।

पप्पु–लुम्बिनी बिल्डर्स जेभीले २०६८ जेठ ३१ गते ठेक्का लिएर २०७१ मङ्सिर ३० भित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर २०७५ सालको बाढीपछि पप्पु कन्स्ट्रक्सन बाहिरिएर लुम्बिनी बिल्डर्सले काम अघि बढायो। पुल सञ्चालनमा आउनुअघि नै २०७८ सालमा दुई वटा पिलर नदीमा भासिएपछि आयोजना फेरि प्रभावित भयो। त्यसपछि पनि पुनःनिर्माणको जिम्मा सोही कम्पनीले पाएको भए पनि चार वर्ष बित्दा उल्लेख्य प्रगति हुन सकेको छैन।

हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरका आयोजना प्रमुख कृष्णकुमार महतोका अनुसार बाढीपछिको प्राविधिक मूल्याङ्कन, डिजाइन पुनरावलोकन र प्रशासनिक प्रक्रियाका कारण निर्माण अवधि लम्बिएको हो। उहाँले हाल नयाँ जग (पायर) निर्माण सम्पन्न भई माथिल्लो संरचना निर्माणको काम बाँकी रहेको जानकारी दिँदै सम्झौताअनुसार ढिलाइबाट हुने अतिरिक्त लागत निर्माण कम्पनीले नै व्यहोर्ने बताउनुभयो।

अर्थशास्त्रका प्राध्यापक धरणीधर अधिकारीका अनुसार मधेस प्रदेशको आर्थिक ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको यस्तो महत्वपूर्ण आयोजना १४ वर्षसम्म पूरा नहुनु विकास प्रशासनको कमजोरी र सार्वजनिक लगानी व्यवस्थापनको चुनौतीको उदाहरण हो। समयमै आयोजना सम्पन्न नहुँदा कृषि, व्यापार, ढुवानी र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक असर परेको उहाँको भनाइ छ।

पुल निर्माणमा भएको ढिलाइका कारण सिरहा सदरमुकामबाट करिब ३१ किलोमिटर दूरीमा रहेको जनकपुरधाम पुग्न अहिले चोहर्वा र ढल्केबर हुँदै करिब ९० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको छ। पुल सञ्चालनमा आएको भए यो दूरी उल्लेख्य रूपमा घट्ने स्थानीय बताउँछन्।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले सरकारले वर्षेनि समस्या दोहोरिँदा पनि स्थायी समाधान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। कमला पुल निर्माण संघर्ष समितिका संयोजक रामरिझन यादवले अब नयाँ पुल निर्माणको विकल्पसमेत अघि सार्दै जनस्तरबाट दबाबमूलक अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

गत जेठमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गरी निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो। तर संघर्ष समितिमा आबद्ध इञ्जिनियर प्रवीन यादवका अनुसार अनुगमन र निर्देशनभन्दा स्पष्ट कार्ययोजना, कडा कार्यान्वयन र निश्चित समयसीमा आवश्यक छ। स्थानीयका अनुसार कमला पुलको १४ वर्षे प्रतीक्षा एउटा पुल निर्माणको ढिलाइ मात्र नभई सार्वजनिक आयोजना व्यवस्थापन, ठेक्का प्रणाली र विकास प्रशासनमा देखिएको कमजोरीको उदाहरण बनेको छ।

Facebook Comments Box