‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा, मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस रोपिँदै

भोजपुर, २३ असार – सरकारले प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन गर्ने ‘सगरमाथा वृक्षरोपण महाअभियान’ यस वर्ष पनि भोजपुरमा जारी रहेको छ। डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँका अनुसार अभियानले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महाअभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङबाट वृक्षरोपण सुरु गरिएको हो। अभियानसँगै पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुर्‍याउने उद्देश्यले जिल्लाको धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस रोप्ने अभियान पनि थालिएको छ।

कार्यालयका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा डिभिजन वन कार्यालयले उपलब्ध गराएका ५०० लालीगुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० बिरुवा रोपिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रमा हरियाली विस्तार, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखिएको छ।

बाँकी बिरुवा टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गत चेखेवा क्षेत्रमा रोपिने जनाइएको छ। अभियान कार्यान्वयनमा जिल्लाका स्थानीय तहले पनि सहयोग गरिरहेका छन्। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले वृक्षरोपण वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र जैविक विविधताको संरक्षणका लागि प्रभावकारी माध्यम भएकाले यस्ता अभियानलाई सफल बनाउन सबैको साझा दायित्व रहेको बताउनुभयो। नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गरिसकेको छ।

साथै, हालै सम्पन्न ‘सगरमाथा संवाद–२०२५’ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कटप्रति विश्व समुदायको ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’ भन्ने सन्देशलाई थप बल दिएको थियो। सरकारी ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा आगामी साउन १५ गतेसम्म सञ्चालन हुने डिभिजन वन कार्यालयले जनाएको छ।

Facebook Comments Box