मनसुनी जोखिम बढेपछि बेँसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा राति सवारी सञ्चालन बन्द
काठमाडौं, १६ असार – मनसुनी वर्षासँगै पहिरोको जोखिम बढेपछि लमजुङ प्रशासनले बेँसीसहर–चामे सडक र पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको सोमबार बसेको बैठकले असार मसान्तसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधनलाई रातिको समयमा सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि मनाङ जिल्लाको सीमासम्म प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। त्यसैगरी, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षाको पूर्वानुमान गरेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेपछि सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। बेँसीसहरदेखि मनाङको सीमा म्यार्दी खोलासम्म करिब ३५ किलोमिटर तथा चामेसम्म करिब ६५ किलोमिटर दूरी रहेको छ।
लमजुङ र मनाङ जोड्ने यो एकमात्र सडक भएकाले हरेक वर्ष बर्खायाममा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने गरेको छ। सडक लामो समय बन्द हुँदा मनाङका बासिन्दा हेलिकोप्टरमार्फत आवतजावत गर्न बाध्य हुने गरेका छन्। यस्तै, राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्की जिल्लाको सीमासम्मको मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड करिब ४८ किलोमिटर लामो छ।
यस सडकको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङ क्षेत्रमा वर्षेनी पहिरो जाने समस्या दोहोरिने गरेको छ। यो सडक लमजुङ र मनाङका बासिन्दाले पोखरा आवतजावतका लागि मुख्य मार्गका रूपमा प्रयोग गर्ने भएकाले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

