रेबिज खोप व्यवस्थापनमा चुनौती, भारतबाट ४,५०० भायल आपूर्ति हुँदै

काठमाडौँ, १४ असार – अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको अवरोध, खरिद प्रक्रियाको जटिल कानुनी व्यवस्था तथा विश्वव्यापी परिस्थितिका कारण रेबिजविरुद्धको खोप व्यवस्थापनमा चुनौती बढेको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आइतबार भारतबाट विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा ४,५०० भायल एन्टि–रेबिज खोप नेपाल आइपुग्ने निश्चित भएको छ।

उहाँका अनुसार हाल देशभर करिब १० हजार भायल खोप मौज्दात रहेको छ भने आगामी १६ गते नियमित खरिद प्रक्रिया अन्तर्गत टेन्डर खोलेर थप आपूर्ति गर्ने तयारी गरिएको छ। डा. भट्टचनले सार्वजनिक खरिद ऐनअनुसार औषधि तथा खोप खरिद गर्दा सबै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आकस्मिक रूपमा ठूलो परिमाणमा खरिद गर्न कठिनाइ हुने बताउनुभयो। साथै पश्चिम एसियामा देखिएको युद्धजन्य अवस्थाले अन्तर्राष्ट्रिय ढुवानी र आपूर्ति शृंखलामा समेत असर पारेको उहाँको भनाइ छ।

यसैबीच, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले आवश्यक खोपको व्यवस्थापन गर्दै सेवा निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ महानगरपालिकालगायत निकायबाट पनि सहयोग प्राप्त भएको छ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने देशमा खोपको पूर्ण अभाव नभएको स्पष्ट पार्दै केही स्थानमा वितरण व्यवस्थापन चुनौतीपूर्ण भए पनि सेवा नरोकिएको बताउनुभयो।

मन्त्रालयका अनुसार मौज्दात र सुनिश्चित आपूर्तिका आधारमा टेकुस्थित अस्पतालमा करिब ३५ दिनभन्दा बढी समयसम्म सेवा सञ्चालन गर्न सकिने अवस्था छ। सरकारले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। बर्खायाममा जनावरको टोकाइका घटना बढ्ने भएकाले खोपको माग पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ। स्वास्थ्यकर्मीहरूले रेबिज लक्षण देखिएपछि रोग घातक हुने भए पनि समयमै खोप र उपचार पाए पूर्ण रूपमा बच्न सकिनेमा जोड दिएका छन्।

Facebook Comments Box